झापामा टुक्रिएको हात जोडे चिकित्सकले
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विर्तामोडः बुधबारे १ झापा होक्सेका ५० बर्षिय हर्कबहादुर लिम्बुको गत सोमबार स्थानीय सन्तोष तिम्सिनाको काठ मिलमा काम गर्ने क्रममा मेशिनले देब्रे हात चुडायो ।


नारीमा मिलको आराले उनको हात दुई टुक्रा बनाएपछि उनलाई बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि पुर्‍याइयो । छिमेकीको सहारामा अस्पताल ल्याइएका उनलाई तत्काल डाक्टरले उपचार गर्ने तयारी गरे ।

बेहोस अवस्थाका उनलाई सोझै आइसियुमा भर्ना गरेर हाडजोर्नी शल्यचिकित्सक डाक्टर निराजन पराजुलीको टिमले उपचार शुरु गर्‍यो । लगभग ६ घण्टाको निरन्तर प्रयास पछि उनको हात जोडियो । अस्पतालमा भएको अत्याधुनिक माइक्रोस्कोपको मद्दतले काटिएका नशा जोड्ने काम भयो ।

राजधानी बाहिर कमै हुने गरेका यस्ता शल्यक्रिया अहिले विर्तामोडस्थित विएण्डसी अस्पतालमा सफल भएको हो । उपचारमा संलग्न अर्का डाक्टर उमेशकुमार शर्माका अनुसार बिरामीको हात अहिले कामलाग्ने अवस्थामा रहेको छ ।

बिरामीले औंला चलाईरहेको तथा हातमा पहिलाको जस्तै रगत संचालन प्रक्रिया पनि नियमित भएको उनले बताए । ‘म कलर डप्लर गरेर हेरिरहेको छु बिरामीमा कुनै समस्या छैन,’ शर्माले भने, ‘यो हस्पिटलले यो दुर्लभ उपचार सम्भव गरेको छ ।’

उपचारमा संलग्न चिकित्सक पराजुलीका अनुसार डाक्टर र प्रविधिको तर्फबाट गरिने सबै उपायले यो शल्यक्रिया सफल भएको हो ।


 शल्यक्रियामा संलग्न डा. निराजन पराजुली (दायाँ) लगायत अन्य चिकित्सक ।

काठमाण्डौ बाहिर यस्तो उपचार पहिलोपटक बीएण्डसी अस्पतालमा भएको बताउँदै उनले हात, खुट्टा लगायतका शरीरका अंग चुडिएको ८ घण्टा भित्रमा अस्पताल पुर्‍याउन सके अंग बचाएर उपचार सम्भव हुने बताए ।

पीडितकी श्रीमती लीलादेवी सुब्बाले माया मारिसकेको आफ्ना श्रीमानको हात फेरि जोडिदा पुनःजीवन पाएको बताइन् । भक्कानिरहेकी उनी यो भन्दा बढी बोल्न सकिनन् ।

उनका छिमेकी खड्ग तिम्सिनाले उपचारमा संलग्न चिकित्सकसहित अस्पताल सञ्चालकलाई खादा ओढाएर सम्मान गरेका थिए ।

बीएण्डसी अस्पतालमा भएको यो प्रविधि संसारकै अत्याधुनिक भएको बताउदै डाक्टर पराजुलीले आवश्यक उपकरण उपलब्ध भए नेपालका डाक्टरहरु जस्तोसुकै कठिन उपचार गर्नपनि सक्षम रहेको भनाइ राखे ।
##
,

0 comments

Write Down Your Responses

Powered by Blogger.