पूर्वराजाले विद्युत महशुल बुझाउन मानेनन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
महशुल निर्मल निवासले नभइ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तिर्नुपर्छः पूर्वराजाका निजी सचिव सागर
पूर्वराजा ज्ञानेन्द्र शाहले विद्युत महशुल बुझाउन अटेरी गरेका छन्। नेपाल विद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्वामित्वमा रहेको काठमाडौंको नागार्जुन बंगलाको विद्युत महशुल बुझाउन अटेरी गरेका हुन्।
प्राधिकरणका आन्तरिक लेखा परीक्षण विभागका सहायक निर्देशक मुकुन्दमान चित्रकारले बक्यौता महशुलका लागि नागार्जुन बंगलामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्राधिकरणको पत्र नै बुझ्न अस्वीकार गरेका छन्। बंगलामा रहेका कर्मचारीले पत्र बुझ्न अस्वीकार गरेपछि आफू पूर्वराजा बस्दै आएको निर्मल निवास पुगेकामा पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिनाले नागार्जुन बंगलाको महशुल निर्मल निवासले नभइ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तिर्ने जवाफ दिएर फर्काएको सहायक निर्देशक चित्रकारले बताए।
पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलाको विद्युत महशुल १ सय २७ महिना अर्थात १० वर्ष ७ महिनादेखि तिरेका छैनन्। पूर्वराजाले यो वर्षको साउन १२ गतेसम्म तिर्नुपर्ने विद्युत महशुलको बक्यौता ६६ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ छ। बक्यौतामा २५ प्रतिशत जरीवाना लाग्ने भएकाले त्यो रकम बढेर करिब ७० लाख रुपैयाँ पुगेको छ। प्राधिकरणको विद्युत वितरण नियमावलीमा निरन्तर दुई महिना महशुल नबुझाउनेको लाइन काटिदिने तथा लाइन काटेको ६ महिना वित्दा पनि बक्यौता नबुझाए मालपोत कार्यालयलाई पत्राचार गरेर घरजग्गा विक्रि रोक्का गर्ने र बक्यौता नबुझाउनेको तीन पुस्तेलाई नयाँ लाइन नदिने व्यवस्था छ। तर नागार्जुन बंगलाको हकमा नियमावलीको व्यवस्था किन कार्यान्वयन नगरेको भन्ने प्रश्नमा प्राधिकरणका सहायक निर्देशक चित्रकारले पूर्वराजा ज्ञानेन्द्र सम्मानित व्यक्ति भएकाले प्राधिकरणले लाइन काट्न भन्दा बक्यौता उठाउनतिर ध्यान दिएको जवाफ दिए।
पूर्वराजाका सहयोगीहरुले सुरूमा नागार्जुन बंगला सरकारको स्वामित्वमा रहेको भन्दै सरकारसँग नै महशुल उठाउन भनेका थिए। तर नेपाल ट्रष्टको कार्यालयले गत असोज १३ गते नागार्जुन बंगला सरकारको स्वामित्वमा नरहेको पत्र पठाएको थियो। प्राधिकरणले अब नागार्जुन बंगलाको विद्युत महशुलको विषयलाई लिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेख्ने भएको छ।
##

0 comments

Write Down Your Responses

Powered by Blogger.