एक अर्बमा गाई फार्म
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पुस २९, २०७२- रुपन्देहीका एक युवाले स्थायी शिक्षण पेसा छोडेर अमेरिका पुगे । त्यहाँ बस्न पाउने अवसर त्यागेर अहिले स्वदेशमा गाई पालेर बसेका छन् । त्यो पनि १ अर्बको एक्लो लगानीमा । रुपन्देही शंकरनगरका शशीधर शर्मा पौडेलले आधुनिक किसिमले उन्नत पशुपालन गर्ने उद्देश्यले ५ वर्षअघि टिकुलीगढमा लुम्बिनी एग्रो प्रोडक्सन तथा रिसर्च सेन्टर प्रालि खोलेका हुन् । पशुपालन व्यवसाय अन्यको तुलनामा दिगो र सेवामूलक भएकाले गाई फार्म खोलेको सञ्चालकले बताए । ‘कामै गर्नुपरे देशका लागि गरौं जस्तो लाग्यो । आधुनिक र व्यावसायिक कृषि देशको विकास र विकासको निकास हो जस्तो लागेकाले गाई फार्म खोलेको हुँ,’ उनले भने ।

सुरुमा ५ जनाको समूहले करिब २५ करोड लगानीमा गाई फार्म खोलेका थिए । लगानी थप्दै लग्नुपर्ने भएपछि अन्य ४ जनाले लगानी फिर्ता लगे । सट्टामा शशीधरले एक्लै फार्म चलाएका छन् । उनले फार्ममा करिब १ अर्ब लगानी गरिसकेको बताए । ‘दूध उत्पादन थाल्नासाथ जग्गा बढाउनुपर्ने, उपकरण किन्नुपर्ने भएकाले लगानी बढाउनुपर्ने भयो,’ उनले भने, ‘त्यसपछि साथीहरूले हात झिक्नुभयो । त्यसमा मैले एक्लै काँध थापें ।’ जुन देशकै ठूलो र नमुना गाई फार्म हो ।

फार्ममा ५ सय गाई पालेर दूध उत्पादनसँगै जैविक मल उत्पादन, विद्युत्, बायोग्यास प्लान्ट, डेरी, दूधका विभिन्न परिकार र कृषि बाल उद्यान तथा कृषि अनुसन्धान केन्द्र बनाउने उद्देश्यले ३ सय ५० गाई र केही भैंसीबाट फार्म सुरु गरिएको थियो । फार्ममा हाल ४ सय २५ गाई छन् । त्यसमध्ये ३ सय माउ गाई छन् । ती होलस्टोन र जर्सी गाई हुन् । फार्मले करिब २ सय ५० माउ गाई बेचिसकेको छ । लगानी र आम्दानीको हिसाबले भैंसीभन्दा गाई सहज भएकाले भैंसीको सट्टा गाई मात्र पाल्न थालिएको सञ्चालक शर्माले बताए ।

फार्ममा पालेका एउटा गाईले दैनिक ३२ लिटरसम्म दूध दिन्छ । दैनिक झन्डै १ हजार २ सय लिटर दूध उत्पादन हुन्छ । दूध दुहुनका लागि मिल्किङ मेसिन छ । मेसिनद्वारा गाई दुहुने प्रविधिमा एक पटकमा १२ वटासम्म गाई दुहुन मिल्छ । यसबाट मानवीय शक्ति र समय दुवैमा कटौती भएको सञ्चालक पौडेलले बताए । मेसिनबाट दूध दुहुनका लागि थुनमा लगेर मेसिन जडान गर्ने गरिन्छ । त्यसरी दुहिएको दूध पाइपबाट सीधै बन्द क्यानमा जान्छ । क्यानमा जम्मा भएको दूधलाई तत्काल चिलिङ भ्याट मेसिनमा खन्याइन्छ । दूधलाई चिलिङमा राखेर चिस्याइसकेपछि मात्रै बजारमा जान्छ । क्यानको दूध तत्कालै चिलिङ भ्याटमा खनाइने भएकाले दूधको शुद्धता र गुणस्तरमा पनि फरक नपर्ने उनले बताए ।

फार्ममा एक जना पशु चिकित्सकसहित २२ जना कामदार छन् । उनीहरूले पूरै समय गाईको रेखदेख गर्छन् । फार्ममा गाईलाई बाँधिदैन । खुला रूपमा छोडिन्छ । गाईलाई चराएर पाल्ने योजना बनाएका पौडेल अहिले ठूलो जग्गाको खोजीमा छन् । अहिले आफ्नो २० बिघासहित थप १० बिघा जग्गामा जई र बर्सिम जातको हाइब्रिड घाँस लगाएका छन् । घाँस काट्ने तथा घाँसलाई मसिनो बनाउने मेसिन छ । उक्त घाँसमा र पराल काटेर गाईलाई खुवाउने गरेका छन् ।

गाई फार्ममा आधुनिक दूध चिस्यान केन्द्रसँगै गोबरबाट कम्पोस्ट मल बनाउने, जैविक मल उत्पादन प्रक्रिया सुरु भएको छ । केही वर्षमै नश्ल सुधार गर्ने, दूध डेरी सञ्चालन गर्ने, दूधका परिकार बनाउने, बायो ग्यास तथा विद्युत् उत्पादन गर्ने, भेटेनरी डिप्लोमा सञ्चालन गर्ने, बाल उद्यान, अनुसन्धानमूलक सूचना संकलन र अनुसन्धान गर्ने लगायत योजना रहेको सञ्चालक शर्मा पौडेलले बताए ।

वर्ल्ड बैंकको अध्ययनले फार्ममा करिब साढे ७ सय बिजुली उत्पादन गर्न सक्ने गोबर र गहुँत रहेको बताएको छ । ‘वर्ल्ड बैंक र वैकल्पिक ऊर्जाले डीपीआर गरिसकेपछि पनि प्रक्रिया लम्बिाएकाले बिजुली निकाल्न ढिलाइ भएको हो । अब तत्काल सुरु हुने छ,’ उनले भने ।

##
, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.